नेपालकै सबैभन्दा लामो शौचालय छ जहाँ

image_print

 ठूलाबडा जन्माउने पिपरा/सहोडवाको यस्तो छ दूर्गति !

 

सुन्दर अभियानका सदस्य श्रीकान्त झाको प्रश्न छ,–‘घरभित्र घुम्टोमा जेलिन बाध्य बनाउने समाजले छोरीबुहारीलाई सडकमा शौच गर्न पठाउँदा लज्जाबोध किन गर्दैन ? । घुम्टो छोट्टिदा लाज मान्ने कि सडकमा शौच गर्दा परिवारका महिला सदस्य अर्धाङ्ग हुँदा ?

 

 

रञ्जन भण्डारीको सहयोगमा
सञ्चारक डेस्क / काठमाडौं
चैत १४ ।

ठाउँ ठाउँमा उप्किएको ,भत्किएको र धुलाम्म जनकपुर–जलेश्वर सडकखण्डमा यात्रा गर्नुको सास्ती भोग्नेलाई मात्र थाहा हुन्छ । १४ किलोमीटरको यो दूरी पार गर्न सार्वजनिक यात्रुवाहक बसलाई एक घण्टाभन्दा बढी समय लाग्छ । निजी सवारीसाधनलाई पनि कम्ती समय लाग्दैन ।
यस सडकखण्डमा यात्रा गर्दा व्योहोर्नुपर्ने हैरानीभन्दा पनि अनौठो र उदेकलादो दृश्य जहीँजता हेर्न पाइन्छ । त्यो हो सडकमै शौच । खासगरी यस सडकखण्डमा पर्ने पिपरा र सहोडवा गाविसमा बाटोको दुवैपट्टी दिसापिसाब गरिएको दृश्य हेर्नु सामान्य र स्वाभाविक भइसकेको छ । ‘सडकमै शौच कुनै बेला बाध्यता थियो होला तर अहिले पिपरा र सहोडबाका लागि पुर्दौदेखिको परम्परालाई धान्नैपर्ने रहर बनेको छ’–स्थानीयबासीहरु हाकाहाकी भन्छन् ।

pipara_vdc_main

पिपरा गाविस भवन

जनकपुरबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर पुग्ने यो सडक भएर जाँदा दूर्गन्धले गर्दा नाकमुख थुन्नुपर्ने हुन्छ । तर सधैँभरि लस्करै दिसापिसाब गरिने हुँदा साँस लिन गारो हुने र मस्तिष्कलाई रन्थनाउने गरेको यात्रुहरुको भनाइ छ । ‘सम्भवतः यो बाटो देशकै लामो खुला शौचालय हो । तपाईं आफैँ कल्पना गर्नुस कयौं किलोमीटरसम्मको खुला शौचालय भएर यात्रा गर्दाको कठिनाइ के हुन्छ’–व्यापारको सिलसिलामा नियमित सीमावर्ती भारतीय क्षेत्रमा पुगिरहने जनकपुरका व्यापारी सन्तोष साहको प्रश्न छ ।
महोत्तरी जिल्लाकै सर्वाधिक सम्पन्न र शिक्षितहरुको बसोबास भएको थलो पिपरालाई मानिन्छ । राजनीतिक आन्दोलनको अग्रणी ठाउँ रहँदैआएको यस गाविसका बासिन्दा श्याम मिश्र भारतको केन्द्रीय सरकारका विदेश मन्त्री भएका थिए । भद्रकाली मिश्र र रामनारायण मिश्र नेपाल सरकारका मन्त्री थिए । स्वास्थ्य तथा जनसँख्या सचिवबाट केही समयअघि मात्र सेवानिवृत्त भएर नयाँ शक्तिबाट राजनीतिमा प्रवेश गरेका डा.प्रवीण मिश्र यसै गाउँका बासिन्दा हुन् । बहालवाला वन तथा भूसंरक्षण सचिव उदयचन्द्र ठाकुरको गाउँ पनि पिपरा नै हो ।
निकै उचाइँ पाएका राजनीतिकर्मी र प्रशासकहरुको यो गाउँको बिजोक छ । गाउँको बाटो भएर जलेश्वर जानेहरुले सडकका दुवैभागमा दिसापिसाबको दूर्गन्ध खप्दा पिपरालाई लिएर मात्र होइन सिङ्गो जिल्लाकै बारेमा नराम्रो धारणा बनाउँछन् । पूर्व कृषि मन्त्री हरिनारायण यादवको गाउँ सहोडबाको स्थिति त पिपराभन्दा पनि घिनलाग्दो छ । पूर्वमन्त्री यादवको घरसँगै जोडिएको छ जनकपुर–जलेश्वर सडक । जहाँको परिचय नै यत्र,तत्र र सर्वत्र दिसापिशाब हुनेगर्छ ।

विहापछि पिपरा गाउँमा रहेको घर आएकी एकजना महिलालाई शौचका लागि खुला ठाँउमा जान भनिएपछि उनलाई छाँगोबाट खसेझैं भयो । माइतमा शौचालय रहेकोले खुला चउर वा सडकमा दिसा बस्ने बानी थिएन उनको ।Pipara_vdc_chowk तर अब बिस्तारै यो बानी बसालेर उनले असल बुहार्तन गर्न थालेकी सात वर्ष भयो । कोहीसँग केही गुनासो नगर्ने उनले भने उज्यालो हुँदै दिसापिसाब गर्न बाहिर जान नसकिने हुँदा भरपेट खाना नखाएको वर्षौ भइसकेको बताइन् ।
यी दुवै गाउँका उच्च ओहोदामा पुगेकाहरु बेलामौकामा गाउँ पुग्छन् । तर खुला शौचको बारेमा चर्चा गर्दैनन् बरु बाहिरबाट आउनेहरुजस्तै नाक थुनेर मुहल्लामा घुम्छन् । उनीहरुका घरमा बृद्ध बाआमाबाहेक अरु कोही बस्दैनन् । अझ अद्र्धशिक्षित र अपठित तन्नेरीहरु वैदेशिक रोजगारमा छन् । रेमिट्यान्सले नै धानिएको छ यहाँको जीवन । कहालीलाग्दो गरिबी पनि छ । तर वैदेशिक रोजगारले प्राप्त हुने आम्दानीबाट यी गाउँमा पक्की घरहरु बन्न थालेका छन् । अँग्रेजीमाध्यमबाट पढाइ हुने विद्यालयहरु खुलेका छन् । तर घरसँगै शौचालय बनाउने कामप्रति यहाँका बासिन्दामा खासै रुचि छैन । सडक नै शैचालय बनेपछि किन चाहियो घरआँगनसँगै शौचालय । ‘निजी शौचालय बनाउने काम यहाँका जनताका लागि नचाहिँदो खर्चको बोझ मात्रै हो भन्ने बुझाइले गहिरो जरो गाडेको छ ’ – जिल्लामा सञ्चालित सुन्दर अभियानका सदस्य श्रीकान्त झा भन्छन् ।
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको सँख्याको दृष्टिले महोत्तरी देशकै दोस्रो जिला हो । रेमिट्यान्स पनि यसैअनुसार भित्र्निे जिल्ला पनि हो । तर जिल्लामा कूल ४९ प्रतिशतसँग मात्र शौचालय छ । रेमिट्यान्सको रकम मोबाइलफोन सेट किन्न, खेतघढेरी जोर्न, घर निर्माण गर्न र बच्चाहरुको पढाइमा खर्च भएकोले शौचालय निर्माण गर्न नसकिएको बताउँछन् यहाँका बासिन्दाहरु ।

Pipara_road

जनकपुर –जलेश्वर सडकको पिपरा खण्ड

महोत्तरी जिल्लाका अधिकांश भेग र खासगरी दक्षिण र पश्चिममा खुला ठाउँमा दिसा बस्ने स्थिति रहँदैआएको छ । बृद्धबृद्धा, महिला र बालबालिकाहरुका लागि सडक नै शौच बनेको दूर्भाग्यलाई खप्नुपरेको वर्षौ भइसकेको छ । पिपरा र सहोडबा गाविसका सडक छेउमा भने महिलाहरुले उज्यालो हुनुपूर्व बिहान र बेलुकी उज्यालो छिप्पिएपछि शौच गर्न बस्छन् । सडकमा सवारीसधान आउँदा उभिने र गइसकेपछि फरि बस्ने कष्टपूर्ण तरिकाले शौच गर्ने महिलाहरुको बानी नै भइसकेको छ ।
सुन्दर अभियानका सदस्य झाको प्रश्न छ,–‘घरभित्र घुम्टोमा जेलिन बाध्य बनाउने समाजले छोरीबुहारीलाई सडकमा शौच गर्न पठाउँदा लज्जाबोध किन गर्दैन ?  घुम्टो छोट्टिदा लाज मान्ने कि सडकमा शौच गर्दा परिवारका महिला सदस्य अर्धाङ्ग हुँदा । उनले समाजलाई प्रतिष्ठित र मर्यादित बनाउन खुला शौचको परम्परा अन्त्य हुनुपर्ने धारणा राख्छन् ।
शौचालय बनाउनुपर्ने बुझाइ नभएकाहरुको समुदायमा सरकारले बनाएको शौचालय पनि उपयोविहीन अवस्था रहने गरेका छन् । सरकारी शौचालयहरुलाई गुँइँठाचिप्री थन्कयाउने र फोहोरमैला थुपार्ने ठाउँको रुपमा परिणत गरिएको दृश्य कतिपय ठाउँमा फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झा बताउँछन् ।
सडकमा शौचको स्थितिले त्यस क्षेत्रमा आवतजावत गर्नेहरुको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परिरहेको छ । जलेश्वर अस्पतालमा खुला शौचका कारण अस्वस्थ भएकाहरु झाडापखाला, जुका, पेट दुख्नेजस्ता रोगबाट पीडित भएर पुग्नेहरुको सँख्या उल्लेख्य छ । खुला शौचका कारण फैलिने महामारीबाट त स्थानीय समुदाय बेखबर नै भएको स्वाङ्ग गर्छन् ।
पिपरा र सहोडबा सडकखण्डलाई खुला शौचमुक्त बनाउने अभियानमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले गम्भीर चासो लिएका छन् । उनले सडक शौचले जिल्लाकै छवि धमिलिएको हुँदा क्रमबद्ध प्रयासबाट सम्भव नभएर अन्तिम उपायको रुपमा प्रशासनिक तहबाट भए पनि सडकमा दिसापिसाब गर्न नदिने स्थिति बनाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *