रेगिस्तानमा काया खियाउँदै गरेका ‘कलमबाज’ ध्रुव झाले भने–‘नयाँ ल्यापटप, क्यामरा र मोबाइल लिएर देश फिर्ता हुन्छु पत्रकारिता गर्न’

image_print

journalist_dhrub_jha

 

अनिलकुमार कर्ण
छाँटकाट त कलाकारकै थियो तर उनी बने पत्रकार । जिन्दगीलाई चहकिलो बनाउने मोहले हो कि एउटा बान्की दिने अस्पष्ट झझल्कोले उनी ‘कलम’ अँगाल्न पुगे । समयको झञ्झावातले हतपतीमा कलम समाएका जनकपुरका पत्रकार ध्रुव झाले मरुभूमिबाट सन्तप्त हुँदै लेखेँ,–‘दाइ, एउटा राम्रोखाले क्यामरा, ल्याटप र मोबाइल किनेर फर्कन्छु देश । यता आएर पत्रकारितालाई निरन्तरता दिने रहर र मात दुवै बढेको छ ।’
एक दशकसम्म डटेर जनकपुरका सञ्चारगृहहरुलाई पानीपँधेरो बनाएका ध्रुवलाई नेपाली पत्रकारिताले टिकाउन सकेन । र, उनी वर्षौसम्म कलम चलाएको ठेलो बोकेर रेगिस्तान पसे । भरमग्दूर कसरत गर्दा पनि छिनछान हुन नसकेको ऋणको बोझ, छितरबितर हुँदै गएका सम्बन्धको परित्रास र जीवनको ठेलठालबाट विरक्तिएर उनी कतार पुगेको वर्ष दिनभन्दा बढी नै भयो । सूचना संकलन गर्ने विलक्षणताको दृष्टिले धेरैभन्दा अब्बल मानिएका सुरो तर आँटी ध्रुवलाई रेगिस्तानको धूलोमा बिलाएपछि थोरै मात्रले सम्झना गरिरहेका होलान् । नेपालमा ‘तरकारीबाली’ को चर्चा भइरहँदा उराँठिएर विदेशिएका जवान र फुर्तिलो ‘कलमबाज’ ध्रुवलाई सम्झिन मन लाग्यो ।
गोरो छालाका ध्रुवको रुपरङ आकर्षक छँदैछ तर पत्रकारिताको मुहल्लामा उनी चिनिएको भनेको सक्रियताको ठाँटबाँटले हो । दशकअघि पिराडीचोकको गुप्ता मीट हाउसमा भेटेको थिएँ उनलाई । रेडियो जनकपुरमा समाचार अनुवादक र वाचकका रुपमा भर्खरै कामकाज थालेका थिए उनी । गाम्भीर्य थिएन । चञ्चल र बेफिक्री थिए । बानीबेहोरले बाउँठो झैं देखिन्थें । तर मिजासिलो भने थिए । नाटककार महेन्द्र मलंगियाको सङ्गतमा परेर उनी जीवनका बेढब र मादकतालाई रङ्मञ्चमा पस्किन चाहेका थिए । तर परिबन्दको धागोमा बेरिएर उनी रेडियोको चौकोसभित्र कैद भए । यहीबाट सुरु भयो उनको बेनम्बरी पत्रकारिता यात्रा ।
रेडियोमा उनको इलमी यात्रा बेरोकटोक जारी थियो । उनी बेफूर्सदी भएका थिए । काम मतलबी र उचित थियो । ज्यान फालेरै लागे । कहिलेकाँही भेट हुन्थ्यो, मीट हाउसकै बार्दलीमा । निकै जाँगरिलो भएर आफूले गरेका कामहरुको फेहरिस्त सुनाउँथे । ‘दाइ, यतिओटा समाचारलाई अनुवाद गरेँ, पढिरहँदा यो शब्दलाई मज्जाले उच्चारण गरेँ’– यस्तै कुराहरुसँगै हामी मीट हाउसमा केही समय व्यतित गथ्र्यौं । कहिलेकाँही हुलकाहुल रेडियोकर्मीहरु त्यहाँ आउँथे, घण्टौंसम्म गफ गर्न । विषय चैँ पत्रकारिता अझ रेडियो पत्रकारिता हुन्थ्यो । यस्तो मुलाकातमा ध्रुव बडो घतलाग्दा तर पाण्डित्यपूर्ण कुराहरु गर्थे । म मुसुक्क हाँस्थें । मेरो मुस्कुराहटले उनी दङ्ग पर्थे । मेरो अनुहारलाई पढ्न खोज्दै सोध्थे–‘दाइ ।’ उत्तर हुन्यो मेरो,–‘दशकभन्दा बढी समयदेखि म पनि पत्रकारिताकै मुसाफिर हुँ ।’
रेडियोकर्मीका रुपमा ‘रातारात’ सेलिब्रिटी हुने र चिताएभन्दा बढी मान पाइने पत्रकारिताको चकाचौंधमा ध्रुव फरक थिए । रेडियो स्टुडियोको वातानुकुलित कक्षले उनलाई लामो समय घेर्न सकेन । र, केही महिनाभित्रमै उनी आवाज बेच्ने लपलपाहटलाई त्याग्दै रिपोर्टिङका लागि लफरलफर गर्न थाले । हो, उनी अनुवादक वा प्रस्तोताबाट पत्रकार बन्ने बाटोमा कुद्न थाले ।

एक दशकसम्म डटेर जनकपुरका सञ्चारगृहहरुलाई पानीपँधेरो बनाएका ध्रुवलाई नेपाली पत्रकारिताले टिकाउन सकेन । र, उनी वर्षौसम्म कलम चलाएको ठेलो बोकेर रेगिस्तान पसे । भरमग्दूर प्रयत्न कसरत गर्दा पनि छिनछान हुन नसकेको ऋणको बोझ, छितरबितर हुँदै गएका सम्बन्धको परित्रास र जीवनको ठेलठालबाट विरक्तिएर उनी कतार पुगेको वर्ष दिनभन्दा बढी नै भयो । सूचना संकलन गर्ने विलक्षणताको दृष्टिले धेरैभन्दा अब्बल मानिएका सुरो तर आँटी ध्रुवलाई रेगिस्तानको धूलोमा बिलाएपछि थोरै मात्रले सम्झना गरिरहेका होलान् ।
मैले उनलाई धेरैपटक रेडियो जनकपुरबाट सिरेटो चल्दै गरेका रातहरुमा काँप्दै पुराना र थोत्रा साइकल चढेर घर फर्केको भेटेँ । कर्मप्रतिको यस्तो बजोड लगाव भएका व्यक्तिहरु कमै मात्रलाई मैले जीवनमा चिनेँ । काम गरिरहँदा ध्रुव कहिल्यै ओइलाएको मलाई सम्झना छैन । पत्रकारिताको मायाजालमा परेर उनी लहडी भए बेलाकुबेला तर मारमुङ्ग्री नै मच्चाउने खालका देखिएनन् । आवेगले तन्किँदा पनि उनी मलाई त शिष्ट नै लाग्थे । हो, ध्रुव मौजी थिए । मस्तमौला । उनी पिउँथे, मज्जाले पिउँथे । धाकधक नमानिकन पिउँथे । धेरैपटक उनको मधुशालाभित्रको पात्र मैले आफैँलाई पनि बनाए । तर उनले पिएर कोहीसँग मोलाहिजा गरेको मलाई थाहा छैन ।
पत्रकारिता गरिहँदा उनले धेरै किसिमका लाञ्छनालाई भोगे । अपमानको विष पिएर पनि काम गरे । उनको ध्येय पारिश्रमिक थिएन । होइन भने छापा पत्रकारिता गर्छु भन्दै उनी एउटा अखबारमा एक हजार रुपियाँ प्रतिमहिना पाउने गरी काम गर्दैन थिए होलान् । छापामा काम गर्ने लालसाले उनले पाँच हजार रुपियाँको ‘रेडियो जागिर’ लाई टुङ्ग्याएका थिए । भन्थें,–‘दाइ, तपाईंले साँचो भन्नुभयो, पत्रकारिताको रस त छापा पत्रकारितामा छ ।’
मधेश आन्दोलनको समय थियो । जनकपुरको एउटा रेडियोबाहेक सबैमा ध्रुवको आवाज सुनिन्थ्यो । उनको मैथिली भाषामा घन्किने आवाज आन्दोलनको जुलुस जतिकै दुरुस्त र प्रभावशाली थियो । तर त्यो आवाजले उनलाई पेटपालो गर्ने कैफियत दिएन । र , उनी जनकपुरका पत्रकार शैलेन्द्र झासँगको नयाँ यात्रा सुरु गरे, सँध्याकालिन दैनिकबाट । पत्रकारिता गर्ने माध्यम मात्र बदलिएको थिएन, भाषामा पनि वदलाब आएको थियो । ध्रुव नेपाली भाषामा समाचार लेख्न थाले । रेडियोको आगमनपछि प्रायः ओझेलमा पर्न थालेको नेपाली भाषाको पत्रकारितामा ध्रुवले ‘व्यावसायिकता पस्केको’ टिप्पणी सँध्याकालिन दैनिकका प्रकाशक शैलेन्द्र झाले प्रायः सुनाइरहनु हुन्थ्यो । सँध्याकालिनमा प्रतिमहिना १५ सय रुपियाँबाट अल्पकालिन जागिर थालेका ध्रुव २२ हजार रुपियाँ प्रतिमहिना पाउने गरी कार्यकारी सम्पादक भइसकेका थिए । उनको यहाँसम्मको यात्राको प्रत्यक्षदर्शी रहिनँ म । काठमाडौं खाल्डोमा बनिबुतो गर्न आइसकेपछि ध्रुव जनकपुरको पत्रकारितामा यो फड्को मार्न पुगेका थिए ।
जनकपुर पुगेँ । जहीँजता ध्रुव । मानौं, जनकपुरको पत्रकारिता उनीबिना हेर्न, बुझ्न र वर्णण गर्न नसकिने रैछ । म जनकपुर हुँदै भेउ पाएको एउटा कुरा थियो । ध्रुव अर्काका लागि लेखिदिने काम गर्थे । तर यतिबेला उनी आफ्नो लागि लेख्न थालेका थिए । उत्सुकतावश म उनलाई भेँट्न किशोरीनगरको डेरामा पुगेँ । एक्लो थिए उनी । तर चुपचाप र उदास थिएनन् । मूक हुने उनको प्रवृत्ति नै थिएन । भुइँभरि कितापकापी र अखबारहरु असरल्ल छरिएका थिए । एउटा ल्यापटपमा उनी समाचारकथा बुन्दै थिए । शैलेन्द्रजीले भन्नुभएको एउटा वाक्य याद छ,–‘अनिलजी, ध्रुवबिना जनकपुरको पत्रकारितामा वेग रहँदैन, सुस्त हुनेछ ।’
लत त पुरानै थियो तर यतिबेला मधुशाला जाने सोक उनको चुलिएको थियो । त्यसैले होला उनीभित्र थोरै निराशा र धेरै छटपटी अनुभव गरेको थिएँ म । व्यक्तिगत जीवनका केही घटनाहरुले मान्छेलाई निर्धो बनाएपछिकोे उनको ‘बेदर्द’ स्थितिले मलाई पनि अत्याएको थियो । समाजका बेथितिहरुसँग विद्रोह गर्ने ध्रुव आफूसँगै बेइमानी गर्न थालेका थिए । उनको बोलीमा लर्खराहट थियो र अनुहारमा फुस्रोपन । पीरैपीरले धाँजा परेको उनको मनलाई टाल्ने ओखती मसँग थिएन । म बेमनले फर्केँ राजधानी ।
केही समयपछि ध्रुव पनि काठमाडौं आए । अशान्त, अधीर र बागी मनले । शान्तिको खोजी थियो होला । र, जीवनलाई बन्दोबस्त गर्ने मनसुबा पनि । उनी मलाई एस टेलिभिजनमा भेट्न आएँ । घण्टौं गफ गर्यौं टेलिभिजनको टेकुनजिकको कार्यालय अगाडि रहेको वरपीपलमुनि । काठमाडौंको सङ्घर्षमा मबाट उनले गर्ने अपेक्षा धेरै थिएनन् र म सघाउने स्थितिमा पनि थिइनँ । मित्र शैलेन्द्रजीको फोन भने आएको थियो,– “सक्नुहुन्छ भने ध्रुवलाई काठमाडौंमै ‘सेटल’ गरिदिनुस् ।” म आठहजार प्रतिमहिना पाउने गरी टेलिभिजनमा काम गरिरहेको थिएँ । यस्तोमा ध्रुवलाई काठमाडौंको पीडादायक र सकसपूर्ण सङ्घर्ष गर्न कसरी सुझाउँथे । जनकपुर फर्किनँ सल्लाह दिएँ । भने,–‘एक कदम आगे बढकर देखो, जिन्दगी काफी खुबसुरत हैं ।’ मलाई लागेको थियो कि विछट्ट प्रतिभाका धनी ध्रुवको समस्या भनेकै ‘स्टाट्स को’ हुनु हो । उनीजस्तो ‘डिसेन्ट र पोजेसिभ’ मानिसलाई जनकपुरकै धरतीले उचाइँ दिनेछ । सन्तोक र सुख दिनेछ । मेरो सल्लाह वा अन्य कुनै मनस्थितिले भन्ने थाहा छैन तर उनी जनकपुर फर्के । जनकपुरको यो पालो भने उनको लागि साँच्चिकै रुपौलो थियो ।
जनकपुरमा ध्रुवले फेरि पनि आफ्नो पेशागत यात्रालाई निरन्तरता दिए । मनबहलाउ र सार्थक कामहरु दुवै गरे । सूचना अभियन्ता भएर जनकपुरबासीलाई सचेत बनाए र मित्र रामअशीषजीको नेतृत्वमा सञ्चालित सरसफाइ अभियानमा रामरिठ्ठो नबिराइ संलग्न भए । मानौं, उनको दुखेसोले पूर्णविराम लिइसकेको थियो ।
अचानक एउटा स्ट्याटस पढेँ । ध्रुवले फेसबुकमा लेखेका थिए–‘ म वैदेशिक रोजगारमा जाँदैछु ।’ खङ्ग्रङ्ङ भएँ, उनको सूर्ता लाग्यो । उनी विदेशिन थालेको कारण बुझ्ने उत्कण्ठालाई मेरो स्तब्धताले छाँयामा पारिसकेको थियो । आँखा डम्म भए । त्यसयता ध्रुवका पोखपाखहरु फेसबुकका भित्ताहरुमा पढिरहन्छु । उनको बर्कत आज पनि बकरार छ ।
ध्रुवले कतारबाट लेखे,–‘दाइ, आँखासोझा दिनका दिन मान्छेहरु म्यानपावर व्यासायीबाट ठगिएर यहाँ नारकीय जीवन भोग्न आउँछन् । मजस्ताहरु पनि अरबी भाषामा हुने अनुबन्धपत्रले झेलमा परेका छन् । कल्पना गर्नुस, अनजान व्यक्तिको हालत के हुँदो हो ।’ फायर वार्डेनको काम गर्न पुगेका ध्रुवको कथा वैदेशिक रोजगारमा जाँदा ठगिएका अन्य नेपालीहरुभन्दा कम्ती कहालीलाग्दो छैन । सुत्नेखाने समयको ठेकान छैन, त्यसमा कम तलबमा घण्टौंसम्म कठिन तथा जोखिमपूर्ण काम गर्नुपर्ने सास्ती । रातदिन भन्न नपाइने स्थिति । बिरामी हुँदा काललाग्ने डर । तर पनि ध्रुवले उत्तेजनाशून्य भएर थपे,–‘दाइ, दुनियाँ मे इतना गम हैं, मेरा गम कितना कम हैं ।’ उनले बिट मार्दै भने,–‘मेरो विदेश बसाइँले घरपरिवार खुशी छ, यसले नै मलाई प्रसन्नता दिएको छ ।’ ध्रुव बित्पात बाठो पनि छन् । त्यसैले उनको टुङ्गाउनी घरपरिवारमै समेटियो ।
तर ध्रुव के चाहन्छन् ? सुरुमै भनेको वाक्य सम्झिन्छु । दाइ, ऋण तिर्ने जोहो गरेर नेपाल फर्कन्छु । नयाँ ल्यापटप, नयाँ क्यामरा र नयाँ मोबाइल । अनि फेरि मनसा वाचा कर्मणाले पत्रकारिता त गर्ने हो ।’
हो ध्रुव फर्क ! ऋण बिसाउने गरी फर्क । ल्यापटप, मोबाइल र क्यामरामा नूतन दृष्टि लिएर फर्क । तर फर्क । तिम्रो थकथकीको पछिया हावा सकिएको छ । थाँतथलोले पर्खदैँछ तिमीलाई ।

  1. अनिल लाल November 12, 2016, 4:34 am

    दु:खद परिस्थिति

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *